काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य घटाउने प्रयासस्वरूप रुसबाट डिजेल आयात गर्ने सम्झौता भएको घोषणा गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने र त्यसपछि थप परिमाणमा आपूर्ति गर्ने सहमति गरेको बताएका छन् ।
सम्झौताअनुसार नोभेम्बरमा पाँच लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउने ट्रम्पको भनाइ छ । अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल आयातमा आगामी अप्रिल ७ सम्मका लागि प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति दिएको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त निर्णयको आलोचना गर्दै यसले पुटिनलाई उपहार दिएको र युद्ध लम्ब्याउन सहयोग पुग्ने बताएका छन् । उनले रुसले डिजेलको बदलामा थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।
इरानसँगको युद्धका कारण अमेरिकामा इन्धनको मूल्य बढिरहेको बेला ट्रम्पले यो कदम चालेका हुन् । यद्यपि, रुसले घोषणा गरिएको परिमाणमा डिजेल उपलब्ध गराउन सक्छ कि सक्दैन र यसले अमेरिकी बजारमा इन्धनको मूल्य कति घटाउँछ भन्ने विषयमा विश्लेषकहरूले प्रश्न उठाएका छन् ।
रुसले भने अमेरिकी तथा विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको जनाएको छ । तर सम्झौताअन्तर्गत अमेरिकाले रुसलाई के दिनेछ भन्ने विषय अझै स्पष्ट भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology