पश्चिम नवलपरासी । जापान सरकार ( मोफा) को आर्थिक सहयोगमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित चारवटा सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास गरिएको छ ।
चाइल्डफण्ड जापानको सहकार्य तथा इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा सञ्चालित ‘बालमैत्री तथा समावेशी शिक्षाको लागि विद्यालयको वातावरण सुधार परियोजना’ अन्तर्गत सरावल गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास गराइएको हो ।
चाइल्डफण्ड जापानका प्रोजेक्ट म्यानेजर मनोज थारूका अनुसार विपद्को समयमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न र सुरक्षित रहने उपायबारे विद्यार्थी तथा शिक्षकहरूलाई पूर्वतयारी स्वरूप यो व्यावहारिक अभ्यास गराइएको हो ।
परियोजना प्रबन्धक (प्रोजेक्ट म्यानेजर) बीणा कुमारी चौधरीका अनुसार बिनोद नीता कण्डेल आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र महेन्द्र जनता माध्यमिक विद्यालयमा उक्त अभ्यास सञ्चालन भएका छन् ।
साथै, यी चारवटै विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरणका लागि बृहत्तर विद्यालय सुरक्षा योजना बनाइएको छ । उक्त अभ्यासमा कुल १ हजार ७ सय ४६ जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology