काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउसो १ बजेदेखि बैठक शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर अन्तर्गत परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'कर्मचारी सञ्चय कोष ( दशौं संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले 'मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबा गौतमले 'राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने र 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology