देवदह । देवदह नगरपालिकाको अन्तरवडा स्तरीय पाँचौँ मेयर कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । देवदह नगर खेलकुद विकास समितिको आयोजनामा देवदह–८ स्थित टटेरा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटै वडाका टोलीको सहभागिता रहेको छ ।
नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख ध्रुवप्रसाद खरेल र नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले खेलाडी उत्पादनसँगै खेलकुद पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । नगरका सबै क्षेत्रको समान विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष फरक–फरक वडाका खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी वर्ष पनि अर्को वडामा प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
कार्यक्रममा नगर खेलकुद विकास समिति सदस्य शिव क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षा अधिकृत परशुराम ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा वडा नं. १ का अध्यक्ष दीपक नेपाल, वडा नं. १२ का अध्यक्ष डेगबहादुर सारु मगर, वडा नं. ८ का अध्यक्ष हरिप्रसाद पाण्डेलगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको पहिलो खेलमा वडा नं. ११ को टोली अनुपस्थित भएपछि वडा नं. १० ले वाकओभरमार्फत विजयी सुरुआत गरेको छ ।
दोस्रो खेलमा आयोजक वडा नं. ८ ले वडा नं. १२ लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । वडा नं. ८ का दीपेश बुढाले गरेको एकमात्र निर्णायक गोल नै टोलीको जितका लागि पर्याप्त बनेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology