देवदह । देवदहमा चौथो अन्तरविद्यालयस्तरीय ‘उपप्रमुख कप छात्रा भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । शनिवार नगर खेलकुद विकास समितिले पत्रकार भेटघाट गर्दै खेलाडीहरूको प्रतिभा पहिचान गर्दै छात्रा भलिबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार (भोलि) देखि प्रतियोगिता हुने जनाएको हो ।
प्क़त्रकार भेटघाटमा बोल्दै नगर शिक्षा अधिकृत समेत रहेका खेलकुद विकास समितिका सदस्य सचिव परशुराम ढकालले जेठ ११ देखि १३ गतेसम्म पानवारी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने बताए ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी १५ वटा माध्यमिक विद्यालय सहभागी हुने भएका छन् । सहभागी विद्यालयमा एशियन लाइट इ. बो. स्कूल, मडरल्याण्ड एकेडेमी, सीता मावि, केरवानी मावि, युगज्योति मावि, न्यू लुम्बिनी इ. बो. स्कूल, न्यू नमूना इ. बो. स्कूल, देवदह इङ्ग्लिस बो. स्कूल, देवदह मावि, देवदह मदर टङ्ग्स एकेडेमी, ग्रीन प्लान्ट इ. बो. स्कूल, महामाया भवानी मावि, भविष्य निर्माण मावि, देवदह बुद्ध पब्लिक इ. बो. स्कूल र सगरमाथा इ. बो. स्कूल रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिने शिक्षा अधिकृत परशुराम ढकालले जानकारी दिए ।
प्रतियोगिता प्रचलित भलिबल नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रत्येक विद्यालयबाट १२ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १४ जनाको टोली सहभागी हुने व्यवस्था गरिएको छ ।
खेललाई व्यवस्थित र मर्यादित बनाउन यस वर्ष कडा मापदण्ड लागू गरिएको आयोजकले जनाएको छ । सहभागी विद्यार्थीको इमिस (ईएंईष) विवरण अध्यावधिक भएको हुनुपर्ने तथा गैरविद्यार्थी सहभागी गराएको पाइएमा सम्बन्धित विद्यालयलाई प्रतियोगिताबाट अयोग्य घोषित गरिने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन सोमबार बिहान ७ बजे हुने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी जेठ १९ गतेबाट नगर प्रमुख कप अन्तरवडा फुटवल प्रतियोगिता संचालन हुने नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology