भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोटमा सत्तारुढ संयुक्त गठबन्धनको साझा घोषणापत्र सार्वजनिक गरिएको छ । आज लुम्छामा पत्रकार सम्मेलन गरेर गठबन्धनले घोषणा सार्वजनिक गरिएको हो । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा छत्रकोटका नेताहरुले घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो गठबन्धन प्रतिगमनका विरुद्ध भएको बताएका छन ।
छत्रकोटमा अध्यक्ष पदका प्रत्यासी अनन्तराम पौडेल , उपाध्यक्ष पदका प्रत्यासी एवं राष्ट्रिय जनमोर्चाका नेता गुमान शिंह पुन, नेकपा माओवादी केन्द्र छत्रकोट अध्यक्ष लोकनाथ पाण्डे, नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल, माओवादी नेता रामचन्द्र कंडेल , कांग्रेस नेत्री भगवती काफ्ले, कांग्रेस नेता योगराज कंडेल शर्मा, माओबादी नेता रबि कंडेल, लगायतले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस गुल्मी जिल्ला उपसभापति एवं अध्यक्ष पदका प्रत्यासी अनन्त पौडेलले घोषणापत्र बमोजिमका काम गर्न यो गठबन्धन प्रतिबद्ध रहेको बताए। " हाम्रो मुल समस्या छत्रकोटमा जन्मेको व्यक्ती छत्रकोटमा नै पुरै जीवन बिताउन नपाउने अवस्था रहेकाले बसाइँसराइ रोक्न हाम्रो मुल उद्देश्य रहने छ , हामी शिक्षा , स्वास्थ्य , रोजगारिको सुलभ व्यवस्थापन गरेर बसाइँसराइ रोक्न हामी प्रतिबद्ध छौं । " पौडेलले भने ।
उपाध्यक्ष पदका उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गुमानशिंह पुनले गाउँपालिकामा ३० गते पछि वास्तविक बिकास हुने दाबी गरे ।
नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसालले छत्रकोटमा नेपाली कांग्रेस आफैमा एक भएको बेला माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एक हुनु आफैमा बिजय भएको बताए । कार्यक्रममा बोल्दै भुसालले भने "गठबन्धनले ४ च लाई प्राथमिकता दिएर काम गर्छौं , पहिलो नेचर दोश्रो कल्चर तेस्रो एग्रीकल्चर र चौथो इस्टक्चरमा हाम्रा गज्जबका योजना छन " ।
माओवादी केन्द्र छत्रकोटका अध्यक्ष लोकनाथ पाण्डेले छत्रकोट गाउँपालिका भित्र निर्माण गर्ने भौतिक संरचना बनाउदा स्थानीय श्रोतसाधनको उच्चतम प्रयोग गर्ने योजना सुनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology