काठमाडौँ । मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । यसअघि राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको उक्त अध्यादेश पुनः सिफारिस गरिएको हो ।
यस्तै, भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन यूरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।
बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णयसमेत गरेको छ, जसमा संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समेटिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology