काठमाडौँ । काठमाडौंमा आन्दोलनरत उखु किसानले सर्लाहीको हरिवनमा भदौ २५ देखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । शनिबार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन्।
आन्दोलनका संयोजक श्यामबाबु रायले भनेका छन्- 'हामीले एक हप्ता काठमाडौंमा आएर आन्दोलन गर्दा समेत सरकारले ध्यान दिएको छैन। झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामी समेत परे, त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ। हामीले अनुदान चन्दा माग्न आएका हैनौँ। हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेका हौँ ।'
उखु उत्पादक महासंघ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान रकममा बदनियतपूर्ण ढंगबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए। उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्न १३ जिल्लाका उखु किसानको भदौ ८ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा ७ दिनदेखि धर्ना एवं विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology