देवदह । सन्दीप आधारभूत विद्यालय देवदह-९ का विद्यार्थीलाई (पोशाक) पोशाक वितरण गरिएको छ । लायन्स क्लव बुटवल तिलोत्तमा र लायन्स क्लव बुटवल तिलोत्तमा मायादेवीले विद्यालयका बालबालिकालाई संयुक्त रुपमा (पोशाक) पोशाक वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई (पोशाक) टिसर्ट वितरण गर्दै लायन्स क्लवले सामाजिक उत्तरदायित्व र सामुदायिक सहयोगको महत्वलाई उजागर गरेका छन् ।
सोहि अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का पूर्व गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्स क्लव एक समाजसेवामा समर्पित संस्था भएको स्मरण गराउँदै विद्यालयका बालबालिकाहरुसँग संवाद समेत गरे । ‘हाम्रो उद्देश्य केवल पोशाक वितरण मात्र होइन, बालबालिकामा सकारात्मक उर्जा जगाउने र शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याउनु पनि हो ।’ उनले भने, ‘लायन्स क्लवले देशभरका विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ र यस्ता सहयोगी गतिविधिहरु समाजमा उदाहरणीय योगदानको प्रमाण हुन् ।’
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारीले राज्यले साना आधारभूत विद्यालयलाई उपेक्षापूर्वक हेर्ने गरेको गुनासो पोख्दै आवश्यक योजना तथा सहयोगको अभाव हुँदा विद्यालयको भौतिक अवस्था कमजोर हुने समस्या औंल्याए ।
‘विद्यार्थी संख्या कम भएकै कारण प्रायः योजनाहरु प्राप्त हुँदैनन् र विद्यालयको पूर्वाधार कमजोर रहन्छ । यस्तो अवस्थामा लायन्स क्लव जस्ता संस्थाले विद्यालयहरुलाई भौतिक र शैक्षिक सुधारमा सहयोग पुर्याउनु सुखद पक्ष हो ।’ प्रअ तिवारीले भने, ‘विद्यालयको तर्फबाट आयोजक क्लवलाई यस योगदानका लागि धन्यवाद दिन्छौँ ।’
शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका ६७ जना विद्यार्थीहरुलाई पोशाक (टिसर्ट) वितरण गरिएको प्रअ तिवारीले जानकारी दिए । लायन्स क्लव बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता तिवारीले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology