काठमाडौँ । भारतको ओडिशा राज्यको पुरी जिल्लाको बलंगा क्षेत्रमा गत साउन ३ गते (१९ जुलाई) अज्ञात व्यक्तिहरूद्वारा आगो लगाइएकी १५ वर्षीया बालिकाको शनिबार दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारको क्रममा मृत्यु भएको छ।
सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको घटनाले अहिले राज्यभरि चासो र आक्रोशको वातावरण सिर्जना गरेको छ।
पीडित बालिकालाई घरनजिकै एकान्त स्थानमा अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको प्रारम्भिक अनुमान गरिएको छ । ७० देखि ७५ प्रतिशतसम्म शरीर जलेपछि उनलाई भुवनेश्वरमा प्रारम्भिक उपचारपछि दिल्ली एम्स पुर्याइएको थियो । चिकित्सकहरूका अनुसार उपचारका सबै प्रयासहरू विफल भएका कारण शनिबार उनको निधन भएको हो।
पीडितका बाबुले भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा भने,म कसैलाई दोष दिन चाहन्न । मेरी छोरी सबै धर्मका मानिसहरूको प्रार्थनाको केन्द्र बनिन् । मलाई कसैसँग गुनासो छैन । मलाई र मेरो परिवारलाई राजनीति र आरोप-प्रत्यारोपबाट टाढा राखिदिनुहोस् । मेरी छोरी शायद मेरो भाग्यमै थिइनन् ।"
ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै बालिकाको निधनलाई "परिवारका लागि अपूरणीय क्षति" भनेका छन् । उनले दोषीलाई कानूनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
तर, विपक्षी दल कांग्रेसका प्रदेश अध्यक्ष भक्त चरण दासले राज्य सरकारको आलोचना गर्दै भने,"घटना भएको दुई हप्ता पुगिसक्दा पनि कुनै दोषी पक्राउ नपर्नु राज्यको सुरक्षा संयन्त्रको असफलता हो। सरकार लाचार बनेर बस्नु आपत्तिजनक छ।"
प्रहरीले प्रारम्भिक अनुसन्धान जारी रहेको बताउँदै आएको छ, तर हालसम्म कसैलाई पक्राउ गरिएको छैन । अनुसन्धानको गति सुस्त र अस्पष्ट देखिएकाले सर्वसाधारण र मानव अधिकारकर्मीहरूले प्रहरीमाथि निष्पक्षता र पारदर्शिताको सवाल उठाएका छन् ।
साभार : BBC Hindi
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology