Logo

२०८३, श्रावण २७गते


images
images

कोदो दिवस

प्रथम राष्ट्रिय कोदो दिवसको मूल कार्यक्रम भक्तपुरमा हुदै

प्रथम राष्ट्रिय कोदो दिवसको मूल कार्यक्रम भक्तपुरमा हुदै

images
  • प्रथम राष्ट्रिय कोदो दिवसको मूल कार्यक्रम भक्तपुरमा हुदै
    images
    images

    काठमाडौँ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेसँगै, प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को मूल समारोह भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना हुने भएको छ।

    images
    images
    images

    ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारासहित मनाइने यो कार्यक्रममा सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय संस्था, किसान समूह र सञ्चार क्षेत्रको संयुक्त सहभागिता रहनेछ । यो दिवस कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासंघ नेपाल, र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा मनाउन लागिएको हो ।

    images
    images
    images

    कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरी कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने समारोहमा एफएओ नेपालका प्रतिनिधि केन शिमिजु, कृषि सचिव, चाँगुनारायण नगरप्रमुख तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहनेछ ।

    images
    images
    images

    २०७७ सालदेखि राष्ट्रिय कृषक समूह महासंघ र अनाजको सहकार्यमा कोदो प्रवर्द्धन अभियान सञ्चालन हुँदै आएको हो । अनाजका अध्यक्ष किरण आचार्यले २०७८ सालदेखि टोखा क्षेत्रमा कोदो रोपेर दिवस मनाउन थालिएको स्मरण गर्दै भने- 'हामीले कोदो बाली प्रवर्द्धनका लागि राज्यले पहलकदमी लिनुपर्छ भनेर ध्यानाकर्षण गराउँदै आएका थियौं। यस वर्ष राज्यले दिवस घोषणा गरेर स्वामित्व लिएकोमा हामी खुशी छौं। राज्यले उत्पादन वृद्धिका लागि बीउ, मलखाद, प्रविधि र मूल्य सुनिश्चितता जस्ता पक्षमा चनाखो भएर काम गर्नुपर्छ ।'

    कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदो स्वास्थ्य र पोषणको दृष्टिले अत्यन्त महत्वपूर्ण बाली भएको बताए । उनले भने- 'यसमा प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । नसर्ने रोगहरूको जोखिम घटाउन कोदोको उपभोग बढाउनु अहिलेको आवश्यकता बनेको छ ।'  उनका अनुसार ग्रामीण भेगमा कोदो खेती वैकल्पिक आयको स्रोत बन्न थालेको छ, र बजारमा यसको माग तीव्र रूपमा बढ्दै गएको छ।

    कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भई ३ लाख ७३२ हजार मेट्रिक टन उत्पादन भएको देखिन्छ।  तर उत्पादकत्व भने प्रति हेक्टर १.३३ मेट्रिक टन मात्र रहेको छ । यदि सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगमा जोड दिन सकिएमा उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि गर्न सकिने विज्ञको भनाइ छ । भन्सार विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ । त्यही वर्षमा ९४ लाख रुपैयाँ बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ, जसले उत्पादनमा आत्मनिर्भरता आवश्यक रहेको स्पष्ट संकेत गर्छ ।

    रैथाने बालीका विज्ञ तथा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय कोदो दिवस संयोजक डा. रामकृष्ण श्रेष्ठले कोदोलाई खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवर्द्धन गर्न सरकारले राष्ट्रिय दिवसको रूपमा समावेश गर्नु ऐतिहासिक कदम भएको बताए ।

    उनले भने- 'कोदोजस्ता रैथाने बाली हाम्रो पहिचान हुन् । उत्पादन बढाउन वैज्ञानिक विधिको विस्तार, बजार पहुँच, मूल्य स्थिरता र किसानको प्रोत्साहनका लागि नीति निर्माणमा सरकार गम्भीर छ ।'

    एफएओ नेपालका कार्यक्रम प्रमुख अरूण जिसीले कोदोलाई पोषणयुक्त, वातावरणमैत्री र जलवायु सहनशील बालीको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने- 'हाम्रो कृषि प्रणाली अब सन्तुलित हुनुपर्छ । कोदो जस्ता बालीले पारम्परिक ज्ञान, ग्रामीण आय र स्वास्थ्य सुदृढीकरण तीनवटै क्षेत्रमा योगदान दिन सक्छन्। त्यसैले बहुआयामिक सहकार्य अपरिहार्य छ ।'

    खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदो बालीको सामाजिक, आर्थिक र पर्यावरणीय मूल्य ठम्याएर नीतिगत प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । उनले भने- 'पछिल्लो समय बजारमा कोदोजन्य परिकारको माग बढ्दो छ । त्यसअनुरूप उत्पादन वृद्धि र विविधीकरणको दिशामा सहकारी, निजी क्षेत्र र राज्यले मिलेर अघि बढ्नुपर्छ ।'

    यस समारोहमा उत्कृष्ट कोदो कृषक तथा कोदोसम्बन्धी समाचार सम्प्रेषणमा योगदान दिने पत्रकारहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ। गत वर्ष पनि ६ जना पत्रकार पुरस्कृत भएका थिए। आयोजक संस्थाहरूले सातै प्रदेशका पत्रकारहरूलाई समाचार सामग्री उपलब्ध गराई सहभागिता जनाउन आह्वान गरेका थिए।

    प्रधानमन्त्री, कृषि मन्त्री र कृषि सचिवबाट कोदो दिवसको सन्दर्भमा विशेष शुभकामना सन्देशसमेत सार्वजनिक गरिने कार्यक्रम रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो समय अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण गैर–सङ्क्रामक रोगहरूको वृद्धि भयावह रूपमा देखिएको छ। यस्तो अवस्थामा कोदो लगायत पौष्टिक बालीहरूको उपभोगले जनस्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने मन्त्रालयको ठम्याइ छ।

    राष्ट्रिय कोदो दिवस २०८२ को मूल समारोहले नीति निर्माता, उपभोक्ता, सञ्चारकर्मी, कृषक र अन्तर्राष्ट्रिय साझेदारहरूलाई एउटै मञ्चमा ल्याउने विश्वास लिइएको छ।  यसबाट कोदो बालीको प्रवर्द्धन, उपभोग, मूल्य श्रृंखला र पोषणसँगको सम्बन्धमाथि गहिरो बहस प्रारम्भ हुने अपेक्षा गरिएको छ।

    देशका विभिन्न भागहरूमा पनि कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।  लमजुङको सुन्दरबजारमा ‘युवा नेपाल (वाईसिटी)’, खाद्यका लागि कृषि अभियान र सुन्दरबजार नगरपालिकाको सहकार्यमा साउन १६ र १७ गते कार्यक्रम हुने जनाइएको छ।  त्यसैगरी, रैथाने एग्रो, नेपाल उद्योग वाणिज्य महासंघ, लिवर्ड लगायत संस्थाहरूले पनि आफ्ना स्थानमा दिवस मनाउने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।