काठमाडौँ । इजरायलको सुरक्षा एजेन्सीले इरानको लागि जासुसी गर्ने नेटवर्कको पर्दाफास गरेको छ । द गार्जियनको रिपोर्ट अनुसार, अहिलेसम्म इजरायलका ३० भन्दा बढी नागरिकहरूलाई इरानी गुप्तचर एजेन्सीसँग काम गरेको आरोप लगाइएको छ ।
रिपोर्ट अनुसार, इरानले इजरायली नागरिकहरूलाई पैसा दिएर लोभ्याएको बताइएको छ । इरानले मानिसहरूलाई बेनामी सन्देशहरू पठाएर देशसँग सम्बन्धित जानकारी सङ्कलन गर्ने प्रयास गरेको रिपोर्टमा उल्लेख छ । इरानले युद्धको बारेमा कुनै जानकारी भएमा आफुलाई दिन र त्यसको बापत ठुलो रकम दिने प्रस्ताव गरिएको बताइएको छ ।
यी सन्देशहरू टेलिग्राम एप मार्फत पठाइएको पाइएको छ । टेलिग्राम लिङ्कमा, मानिसहरूलाई पोस्टरहरू राख्ने र नारा लेख्ने जस्ता कामहरू दिइएको थियो । अर्कोतर्फ, इजरायलको लागि जासुसी गरेको आरोपमा इरानले अहिलेसम्म ७०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको छ ।
इजरायलले जुन १३ मा इरानमाथि आक्रमण गरेपाची दुवैबीच १२ दिनसम्म चलेको युद्धपछि, ट्रम्पले जुन २४ मा युद्धविरामको घोषणा गरेका थिए । युद्धमा इरानमा ६२७ र इजरायलमा २८ जनाको मृत्यु भयो ।
टेलिग्राम लिङ्कमा मानिसहरूलाई धेरै काम दिइएको थियो । इरानी गुप्तचर निकायसँग काम गर्ने एक संदिग्धलाई पहिले पार्कमा कालो झोला फेला पार्न भनिएको थियो । जसको लागि उनलाई एक हजार अमेरिकी डलर दिने भनिएको थियो । पछि उनीहरूलाई अन्य काम तोकिएको थियो । जसमा पर्चा बाँड्ने, भित्तामा नेतान्याहू विरुद्ध नारा लेख्ने, सडकमा उत्तेजक पोस्टरहरू राख्ने, सार्वजनिक स्थानहरूको भित्तामा चित्रहरू बनाउने वा सरकारी कार्यालयहरू, विमानस्थलहरू जस्ता संवेदनशील स्थानहरूको फोटोको बदलामा पैसा दिने समावेश रहेको बताइएको छ । पोस्टरहरू राख्ने र फोटो खिच्ने जस्ता कामहरू गरेपछि, मानिसहरूलाई थप पैसाको लोभ देखाइएको थियो । संदिग्धहरूलाई इजरायली वैज्ञानिकलाई मार्न र उनको घर जलाउन ६० हजार डलरसम्म दिने प्रस्ताव गरिएको थियो ।
अर्कोतर्फ, फार्स समाचार एजेन्सीका अनुसार, इजरायलको गुप्तचर एजेन्सी मोसादले इरानमा जासूसी गरेको थियो । जुलाई १३ को बिहान, मोसादले इरानका धेरै शीर्ष सैन्य र आणविक वैज्ञानिकहरूलाई लक्षित गरी हत्या गरेको थियो ।
साथै, इरानले इजरायलको लागि जासूसी गर्ने ७०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको दाबी गरेको छ । रिपोर्टका अनुसार, सुनुवाइ पछि तीमध्ये छ जनालाई फाँसी दिइएको इरानी मिडियाले उल्लेख गरेका छन् । यद्यपि, यी सुनुवाइहरू गोप्य रूपमा आयोजित गरिएको थियो, त्यसैले यी नेटवर्कहरू वास्तविक थिए कि थिएनन् भन्ने स्पष्ट छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology