काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सबै राजनीतिक दलहरुको सहमति भए शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै राजसंस्था संस्थागत गर्न सकिने बताए ।
उनले आफूहरुले राजसंस्था पुनः स्थापनाका लागि गर्न लागेको आन्दोलन संविधान विपरित नभएको जिकिर गरे । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको थापाले बताए । सबै राजनीतिक दलहरुको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिने थापाको भनाई छ ।
उनले भने, ‘यदी राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै संस्थागत गर्न सकिन्छ । यो आन्दोलन संविधान विपरित पनि होइन । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ ।’
अध्यक्ष थापाले संविधानले अभिव्यक्ति, स्वतन्त्रता र बिना हात हतियार भेला हुने अधिकार जनतालाई दिएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology