काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने संकेत गरेका छन् । उनले सधैँ पैसा दिएर वायुसेवा निगम चलाइराख्न नसकिने बताए ।
शुक्रवार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क–२ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले वायुसेवा निगमका लागि स्टाटेजिक पार्टनर खोजेर पब्लिक प्राइभेट प्रोग्राममा लान जरुरी रहेको उल्लेख गरे ।
मन्त्री गुरुङले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै भएको टिप्पणी गरे । उनले आफू विगतमा पर्यटनमन्त्री हुँदाको जस्तै समस्या अहिले पनि यथावत रहेको बताए ।
मन्त्री गुरुङले भने, ‘नेपाल वायुसेवा निगमको हालत अहिले पनि यथावत छँदैछ । नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाइराख्ने, यसबाट उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग गरेको छ, केही पनि गरेको छैन । स्टाटेजिक पार्टनर खोजेर यसलाई पिपिपि मोडलमा जानुपर्छ ।’
सरकारले धर्मपुत्र पालेको जस्तो वायु निगमलाई पालिराख्नु नहुने मन्त्री गुरुङको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology