बुटवल । बुटवलको एक कोठाभित्र उत्साहित अनुहारहरू । बुढापाकादेखि युवासम्मको उपस्थिति । उनीहरूको हातमा छ - कापीकलम । आँखामा झलझली घूमिरहेछ - मौलिक संस्कृति । अनि मनमा छ - आफ्नो मातृभाषाप्रतिको अथाह माया ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको एक महिने मगर भाषा तालिम शनिबार समापन भयो । ७० जना प्रशिक्षार्थी सहभागी भएको यो तालिम केवल भाषा सिकाइका लागि मात्र थिएन - यो पहिचान पुनर्जागरणको एउटा जीवन्त अभ्यास थियो ।
तालिम हजुरआमा बोलेको भाषा सम्झन र आफ्ना छोराछोरीसम्म पु¥याउन गरिएको एउटा प्रयत्न थियो । जुन प्रयास भाषासंस्कृतिको संरक्षणका निम्ति पनि प्रेरणाको कथा हुन सक्छ।
तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवल क्षेत्रका सबै जातजातिका भाषा, कला, संस्कार र संस्कृति संरक्षणको प्रतिबद्धता जनाए । मगर समुदायको भाषा, गीत, नृत्यजस्ता मौलिकता हराउँदै जानु दुःखद भएको उल्लेख गर्दै उनले सोरठी, मारुनीजस्ता सांस्कृतिक सम्पदामा पुनः जीवन फुक्नुपर्नेमा जोड दिए ।
'हामीले सबै समुदायलाई सम्मान गर्ने दृष्टिकोणबाट भाषा र संस्कृतिको संरक्षणमा साथ दिइरहेका छौं ।' उनले भने, 'यी सबै राज्यकै सम्पत्ति हुन्।”
नगर उपप्रमुख सावित्रा अर्यालले भाषा पुस्तान्तरणको जिम्मा विशेषतः महिलामाथि हुने बताइन् । मातृसत्तात्मक संरचनामा आधारित मगर परिवारहरूमा महिलाहरू भाषाको वाहक हुने उल्लेख गर्दै उनले भनिन् , 'भाषा संरक्षण गर्न चाहने हो भने आमाहरुले अगुवाइ गर्नुपर्छ।'
तालिममा सहभागी नोयु बुढामगरले भावुक हुँदै भने, 'हामीले बिर्सिँदै गएका शब्दहरू फेरी सम्झियौं, केटा–केटीदेखि बुबाआमासम्मलाई सिकाउन सक्ने आधार बनायौं । भाषा नभए हामी के हौं?'
नेपाल मगर संघ उपमहानगर समिति बुटवलकी अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापा मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष आनबहादुर सोतीमगर, जिल्ला समन्वय समिति अध्यक्ष थर्कबहादुर बारघरेमगर, सल्लाहकार किशनबहादुर थापा लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रशिक्षार्थी नोयु बुढामगर, रिता अर्घलीमगर, ताराप्रसाद बुढाथोकी मगर, प्रमिला बुढामगर, लक्ष्मी रानामगरजस्ता सहभागीहरुले तालिमको अनुभव शेयर गर्दै मगर भाषा सिक्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा संघका उपाध्यक्ष लुमबहादुर सारुको स्वागत र सचिव हेमन्त बुढाथोकी मगरको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology