जनकपुरधाम । जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू जनकपुरधामस्थित जानकी मन्दिरमा आजदेखि शुरु भएका छन् ।
मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जानकी मन्दिरले आयोजना गर्ने कार्यक्रमअनुसार प्रत्येक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन हुनेछ भने साँझ ७ बजे मन्दिरको गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगानसहित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।
साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी राखिएको छ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिने कार्यक्रम तय गरिएको छ । त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव मनाइनेछ ।
छठिहारसम्म हरेक साँझ गर्भगृहमा जन्म बधाई गान गाउने परम्परा पनि निरन्तरता दिइने जनाइएको छ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा सम्पन्न गरिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology