काठमाडौं । आज वैशाख शुक्ल तृतीया, हिन्दू धर्ममा अक्षय तृतीया भनेर चिनिने दिन । गर्मी बढ्ने बेला शीतलता दिने परिकारको रूपमा आज जौको सातु र सर्वत खाएर पर्व मनाउने परम्परा छ ।
अक्षय तृतीया विशेष मानिने दिन हो । 'अक्षय' शब्दको अर्थ नै नाश नहुने भएकाले यस दिन गरिएका पुण्यकर्मको फल स्थायी हुने विश्वास रहिआएको छ । यही कारण आजको दिन स्नान, दान, पूजा, जप तथा तप आदिलाई विशेष पुण्यदायक मानिन्छ ।
शास्त्रीय वर्णन अनुसार, यही दिन भगवान श्रीविष्णुले नरनारायण, हयग्रीव र परशुरामका रूपमा अवतार लिएका थिए । यही तिथिमा महादेव र पार्वतीको विवाह भएको विश्वास पनि गरिन्छ । हिन्दू धर्ममा द्वापर युगको अन्त्य र त्रेता युगको सुरुवात यतै दिनबाट मानिन्छ। महाभारत युद्धपछिको कालसँग पनि यो दिनको ऐतिहासिक सम्बन्ध जोडिएको छ ।
अक्षय तृतीयाका दिन सूर्य र चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले आजको दिन कुनै पनि शुभकार्य पञ्चाङ्ग नहेरी गर्न सकिने मान्यता छ । विवाह, नयाँ कारोबारको सुरुवात, लगानी, जमिन किनबेच जस्ता कार्य आज शुभ मानिन्छ ।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेवसहित देशभरका शिवालयमा आज दर्शनार्थीको भीड लागेको छ । हिन्दू मैथिल परम्पराअनुसार, आजका दिन बाटोमा बसेर तिर्खाएका र भोका यात्रुहरूलाई सातु र सर्वत खुवाउने चलन पनि छ। सातु राखिएको थैला र सर्वत राखिएको घडासहित दान दिनु विशेष पुण्यदायक मानिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology