देवदह । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देवदह नगरपालिकामा सहकारीहरूको वर्तमान अवस्था र आगामी रणनीति विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका सहकारी सञ्जालको आयोजनामा भएको कार्यक्रममा विभिन्न सहकारी संघ तथा संस्थाका प्रतिनिधिहरूले सहकारी व्यवस्थापन सुधार, वित्तीय पारदर्शिता, प्रविधिको प्रयोग, कृषि तथा दुग्ध उत्पादन प्रवर्द्धन, ऋण पुनरावलोकन, बीमा तथा सहज ऋण व्यवस्थापन लगायतका विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ, राष्ट्रिय सहकारी महासंघ लि. लेखा सुपरिवेक्षण समितिका संयोजक भीम प्रसाद तुलाचन र राष्ट्रिय सहकारी महासंघ लि. सञ्चालक सदस्य टिका न्यौपाने लगायतको विशेष उपस्थिति रहेको थियो। जिल्ला सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, बचत तथा ऋण सहकारी संघ लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रमले १३ १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ।
सहकारी संस्थाहरूको १३ बुँदे प्रतिबद्धता
1. कानुनी आधारमा सहकारी सञ्चालन – सबै सहकारी संस्थाहरूले कानुनसम्मत तरिकाले सञ्चालन गर्ने, आवश्यक कार्यविधि तथा नीति निर्माण गर्ने र प्रत्येक वर्ष असोज मसान्तभित्र साधारण सभा सम्पन्न गर्ने।
2. वित्तीय सुधार र खर्च कटौती – संस्थाहरूमा बलियो वित्तीय संरचना तयार गर्ने, अनावश्यक खर्च कटौती गर्ने, साधारण सभामा वितरण गरिने यातायात भत्ता हटाउने तथा अस्वस्थ प्रतिस्पर्धा नगर्ने।
3. संस्थागत दक्षता अभिवृद्धि – सञ्चालकहरू तथा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम तथा शिक्षालाई प्राथमिकता दिने।
4.प्रविधिको प्रयोग र सुरक्षाको सुनिश्चितता – सहकारी व्यवस्थापनमा आधुनिक प्रविधि प्रयोग गर्ने र त्यसको सुरक्षाका लागि आवश्यक विधिहरू अवलम्बन गर्ने।
5. सहकारीको मूल उद्देश्य प्राप्त गर्न प्रतिबद्धता – सहकारी स्थापना उद्देश्य प्राप्त गर्न दीर्घकालीन योजना निर्माण गर्ने।
6. ऋण प्रणाली सुधार – ऋण तथा बचत योजनाहरूको पुनरावलोकन गर्ने, ऋणी तथा सदस्य वर्गीकरण गर्ने र संस्थागत शुद्धता कायम राख्ने।
7. ऋण असुलीमा साझा नीति – ऋण असुलीका लागि सहकारीहरूबीच साझा धारणा बनाउने तथा नगरपालिकासँग सहकार्य गर्ने।
8. कृषि बजार तथा उद्योग स्थापनामा पहल – विचौलिया अन्त्य गर्न कृषि बजार, दाना उद्योग तथा साइलोेज उद्योग स्थापनाका लागि योजना निर्माण गर्ने।
9. दुग्ध उत्पादकहरूको हित संरक्षण – प्लास्टिकका भाँडाको प्रयोग निरुत्साहित गर्ने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान दिने।
10. पशु आहार संरक्षण – खेतमा आगलागी नियन्त्रणका लागि हार्भेष्टर मेशिनसँगै भुसा उत्पादन गर्ने उपकरण अनिवार्य गराउन पहल गर्ने।
11. कृषि बीमा तथा ऋणको सहजता – कृषकहरूलाई सहुलियत दरमा बीमा तथा कृषि ऋण उपलब्ध गराउन आवश्यक पहल गर्ने।
12. नियमित प्रतिवेदन प्रणाली – कोपोमिस, गोएलएमएल, सम्पत्ति शुद्धिकरणजस्ता कार्यविधिहरूमा संलग्न रही नियमनकारी निकायलाई समयमा प्रतिवेदन दिने।
13. मर्यादित सहकारी तथा समुन्नत समाज निर्माण – पारदर्शी, जवाफदेही र मर्यादित सहकारी प्रणालीको स्थापना गर्ने।
कार्यक्रमका अतिथिहरूले सहकारी संस्थाहरूलाई आर्थिक सुदृढता, सुशासन र सामाजिक उत्तरदायित्वमा थप योगदान पुर्याउन आह्वान गरेका थिए। सहकारी संस्थाहरूले घोषणा गरेका प्रतिबद्धताहरू कार्यान्वयन भएमा देवदहको सहकारी क्षेत्रलाई उदाहरणीय बनाउन सकिनेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।