बुटवल । नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिती रुपन्देहीको आयोजनामा ६० औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय भेद उन्मूलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
"परिवर्तित समयमा कुरिती र कुसंस्कार त्यागौं, तथ्यगत र वैज्ञानिक बाटोमा लागौं" भन्ने मूल नाराका साथ बुटवलमा सम्पन्न कार्यक्रममा जातीय विभेद न्यूनीकरणका लागि कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जातका आधारमा कुनै पनि व्यक्ति वा समुदायमाथि विभेद गैरकानुनी भएको स्पष्ट पारे। उनले माओवादी १० वर्षे जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै पछाडि पारिएको वर्गलाई राज्यको पहुँचमा ल्याउन सफलता प्राप्त भएको दाबी गरे। उनले संविधानमा दलित तथा सीमान्तकृत समुदायलाई सशक्त बनाउन थुप्रै कानुन बने पनि प्रभावकारी कार्यान्वयन नहुँदा उपलब्धिहरू खतरामा परेको धारणा राखे। उनले जातीय विभेद रोक्न सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको औंल्याए।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राम परियारले जातीय छुवाछूत तथा विभेदका घटनाहरूको स्वरूप परिवर्तन हुँदै आए पनि विभेदको समस्या अझै कायम रहेको बताए। संविधान र कानुन कार्यान्वयन नहुँदा अझै पनि थर तथा जातकै आधारमा बहिष्करण हुने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले विभेदविरुद्ध दलित समुदाय मात्र नभई सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। साथै, जातीय विभेद न्यूनीकरणका लागि विद्यालयका पाठ्यपुस्तकहरूमा नै सामाजिक सचेतनाका सन्देश समावेश गर्नुपर्ने धारणा राखे।
राष्ट्रिय कर्मचारी महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज मीन प्रसाद न्यौपाने, दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष कर्मलाल परियार, नारायण बहादुर जिसी (निर्मल), खगेन्द्र बिक (सुजित), दिपा बिक लगायतको उपस्थिति रहेको कार्यक्रममा खिम बहादुर बिकले ‘दलित समुदायको अवस्था : विगत, वर्तमान र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रम मोर्चाका अध्यक्ष ध्रुव लामगादेको अध्यक्षता, इन्चार्ज पदम बहादुर बिकको स्वागत मन्तव्य तथा सचिव छवि नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology