देवदह । रुपन्देहीको देवदहमा औषधिजन्य वनस्पति तथा बोटबिरुवा चिनाउन विद्यार्थीहरूलाई जङ्गल सफारी गराइएको छ । देवदह वडा नम्बर ९ को आयोजनामा सोही वडाका विद्यार्थीहरूलाई औषधिजन्य वनस्पति तथा अन्य बोटबिरुवा चिनाउनका लागि जङ्गल सफारी सँगै अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले जडीबुटी तथा वनस्पतिको संरक्षण पहिचान र महत्वका विषयमा विद्यार्थीहरूले बुझ्न आवश्यक रहेको बताए । देवदहको वन क्षेत्र जडीबुटीले भरिभराउ रहेको भन्दै त्यसको पहिचान र उपयोग गर्न सके नगरको समृद्धि हासिल हुने उनले उल्लेख गरे ।
नगर प्रमुख खरेलले पर्यटकीय क्षेत्रको प्रचार प्रसार, उत्खनन र प्रबद्र्धनमा नगरपालिकाले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउँदै आफूहरू सामुदायिक वन सङ्ग समेत सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताए । सोही अवसरमा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले प्राकृतिक श्रोत र साधनको उपयोग सङ्गै संरक्षण पनि आवश्यक रहेको बताए । विद्यार्थीहरू भविष्यको कर्णधार मात्र नभएर वर्तमानका साझेदार समेत रहेको भन्दै उनले औषधि र वनस्पतिजन्य पदार्थको ज्ञान आवश्यक रहेकोमा जोड दिए ।
देवदह ९ का ५० भन्दा बढी विद्यार्थीहरू सहभागी रहेको कार्यक्रममा विषय विज्ञको रूपमा भलुही आरोग्य केन्द्रका डा. आविष्कार अधिकारी, लुम्बिनी आरोग्य केन्द्रका डा. योगेश ढकाल र डा. अञ्जलि पौडेलको सहभागिता थियो । देवदह ९ स्थित खयर डाँडाबाट सुरु भएको वनस्पति चिनारी कार्यक्रम ऐतिहासिक देवदह दह, सरनबारी, केउली हुँदै जनप्रिय सामुदायिक वनमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा सितलनगर सब डिभिजन बन कार्यालयका प्रमुख रविन्द्र चौधरी, गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेम नारायण अधिकारी, बुद्धनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चेतमान श्रेष्ठ लगाएतले बोलेका थिए ।
देवदह क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको कार्यक्रम वडा अध्यक्ष मोहन बहादुर जिसीको अध्यक्षता र कर्मचारी सुनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology