देवदह । देवदह नगरपालिका वडा नं १० स्थित सीता माध्यमिक विद्यालयमा भएको आर्थिक हिनामिनाको विषय बाहिर आएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष यक बहादुर सुनार, पुर्व प्रधानाध्यापक महेशकुमार थैव र पुर्व लेखापाल लालबहादुर रूचालले एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यक बहादुर सुनारले मंगलबार विद्यालय प्रांगणमा पत्रकार सम्मेलन गर्दै विगतमा विद्यालयमा आर्थिक अनियमितता हुने गरेको र आर्थिक हिनामिनामा पुर्व प्रधानाध्यापक थैव र पुर्व लेखापाल रुचाल संलग्न भएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै देवदह नगरपालिका वडा नं १० का वडा अध्यक्ष समेत रहेका अध्यक्ष सुनारले विगतमा विद्यालयमा भएको आर्थिक हिनामिनाको विषय आफु आध्यक्ष भएपछि अनुसन्धान गरि बाहिर ल्याएको दावी गरे । विगत ३ वर्षदेखि विद्यालयको अडिट नगरेको र लेखापाल रूचालले ९ लाख २५ हजार 'हिनामिना' गरेको पाइएको उनले बताए ।
आफु विद्यालयलाई व्यवस्थित गर्न र शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयको अध्यक्ष बनेको जिकिर गर्दै उनले अहिले अडिटको काम भैरहेको र सबै अनियमितताको आफुले पर्दाफास गर्ने दावी दोहोर्याए ।
विद्यालय व्यवस्थापन समितिले बारम्बार ताकेता गरेपछि पुर्व लेखापाल रूचालले आफुले 'अनियमित गरेको' ९ लाख २५ हजार रुपैया विद्यालयको खातामा जम्मा गरिसकेको उल्लेख गर्दै उनले ९ लाख २५ हजारको ब्याजसमेत बुझाउन रुचाललाई निर्देशन गरिएको बताए ।
विद्यालयको भवन निर्माणको क्रममा पेस गरिएका लागत इस्टिमेट र कार्यसम्पन्न प्रतिवेदन समेत कार्यालयमा नभेटिएको र अहिले समितिले पुराना कागजात उपलब्ध गराउन र आवश्यक स्पष्टिकरण दिन पुर्व प्रधानाध्यापकलाई पत्राचार गरेको उनको भनाइ छ ।
वडा अध्यक्षका रूपमा तत्कालिन अवस्थामा विद्यालय व्यवस्थापन समितिमा तपाईं पनि हुनुहुन्थ्यो, त्यतिबेला किन भूमिका खेल्नु भएन भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष सुनारले आर्थिक विषय विद्यालय प्रशासनको विषय भएको र आफू पदेन सदस्य मात्रै रहेकोले त्यतातर्फ भूमिका निर्वाह गर्न नसकेको प्रष्टीकरण दिए ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारी, लेखापाल सन्जु चापागाईं, लेखा सुपरिवेक्षण समिति संयोजक कुमार परियारले समेत अध्यक्ष सुनार कै भनाईमा सहमति जनाए ।
आर्थिक हिनामिना लेखापालको विषय हो, अडिट गर्न नदिने 'कार्यवाहक अध्यक्ष' सुनार हुन् : पुर्व प्रधानाध्यापक थैव
विद्यालयका पुर्व प्रधानाध्यापक महेशकुमार थैवले अध्यक्ष सुनारले आफ्नो चरित्रहत्या गरेको बताए । आफु कुनैपनि आर्थिक हिनामिनामा नजोडिएको र त्यसरी आर्थिक हिनामिना हुने गरि कुनैपनि चेकमा हस्ताक्षर गरेको भए विद्यालयले प्रमाण पेश गर्न चुनौती दिए । विद्यार्थीले नगद बुझाएको रकम विद्यालयको खातामा जम्मा नगरी लेखापालले हिनामिना गरेको हुनसक्ने तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्दै उनले डेढ दशक बढी विद्यालयमा आफुले बगाएको पसिनाको अवमुल्यन नगर्न अनुरोध गरे ।
तपाईंले हरेक वर्ष गर्नुपर्ने विद्यालयको अडिट किन गर्नुभएन ? समयमै अडिट नहुने, तपाईं प्रधानाध्यापक हुँदा आर्थिक हिनामिना हुने कुराले तपाईं पनि संलग्न हुन सक्ने आशंका त गर्न सकिन्छ नि ? भन्ने सेतोमसीको प्रश्नमा थैवले विद्यालयको अडिट गर्न नियुक्त भएका अडिटरलाई सुनारले नै काम गर्न नदिएको आरोप लगाए । पुरानो समितिको समयावधि सकिएपछि तत्कालिन अवस्थामा वडा अध्यक्ष समेत रहेका सुनारले कार्यवाहक अध्यक्षको रूपमा विद्यालयको नेतृत्व गरेको र विद्यालयको अडिट गर्न उनैले नदिएको आरोप थैवले दोहोर्याए ।
विद्यालयको भवन निर्माणको सबै कागजात विद्यालयमै रहेको र विद्यालयले आजसम्म स्पष्टिकरणको लागि आफुलाई कुनै पत्राचार नगरेको उनको भनाइ छ ।
समयमै अडिट नहुँदा समस्या भयो, नियतबश आर्थिक हिनामिना गरेको छैन : पुर्वलेखापाल रुचाल
विद्यालयका पुर्वलेखापाल लालबहादुर रूचालले समयमै अडिट नहुँदा विद्यालयमा समस्या देखिएको बताए । आफुले नियतबश आर्थिक हिनामिना नगरेको उल्लेख गर्दै उनले आफूबाट भुलबश भएको कमजोरी स्वीकार गर्दै बेरुजु देखिएको रकम विद्यालयको खातामा जम्मा गरिसकेको बताए ।
कक्षा ६ देखि १२ सम्म पढाउने र विद्यालयको लेखा समेत राख्नु परेकोले कामको चापले पनि समस्या भएको तर्क गर्दै उनले कम्प्युटर प्रिण्टेट बिल र छापिएको बिलसंग बैंक स्टेटमेण्ट नमिलेको अडिट रिपोर्ट देखिएपछि स्पष्टिकरण सहित आफुले बेरुजु भुक्तान गरेको प्रष्ट पारे ।
तत्कालिन अवस्थामा विद्यालयको अडिट समयमै गर्न आफुले अनुरोध गरिरहेको तर कार्यबाहक अध्यक्ष सुनार नै अडिट गर्न इच्छुक नदेखिएकोले समस्या देखिएको उनको भनाई छ ।
तपाईंले बेरुजु देखिएको रकम त भुक्तान गर्नु भयो, त्यसको ब्याज पनि असुलउपर गर्ने विद्यालयले जनाएको छ । ब्याज कहिलेसम्म तिर्नुहुन्छ भन्ने सेतोमसीको प्रश्नमा रूचालले नियम बुझेर कानुन बमोजिम गर्ने बताए ।
वि. सं. २०४२ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । हाल विद्यालयमा आठ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको संख्या २२ रहेको विद्यालयले जनाएको छ । वि. सं. २०८० बैशाख २० गतेको देवदह नगरपालिकाको निर्णयले देवदहका केही माध्यमिक विद्यालयमा प्रधानानाध्यापक परिवर्तन गरेपछि बैशाख २९ देखि सीता माविमा नयाँ प्रधानाध्यापकको रूपमा उमाकान्त अधिकारी कार्यरत छन । केही समयअघि भएको विद्यालयको अभिभावक भेलाले वडा अध्यक्ष सुनारलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology