रामचन्द्र तिम्सिना, नुवाकोट । तथ्यांकलाई आधार मान्ने हो भने करिब ३ अर्ब रुपैयाँको बिदेशी मदिरा बार्षिक आयात हुन्छ । नेपालमा स्कटिस ह्वीस्कीको बजार ठूलो रहेको मदिरा आयातकर्ताहरुको दाबी छ । स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा हुन् । यसरी राजस्वको लोभमा मदिरा बिना कुनै मापदण्ड भित्र्याउँदै छ – सरकार । अनि उच्च सेवनसंगै घरेलु र सामाजिक अपराध हुर्काउँदै छ – मदिरा ।
नेपालमा वाइन, भोड्का, जिनजस्ता अल्कोहलिक पदार्थको आयात उच्च हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकहरुबाट समेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले बेलायतबाट रम र चीनबाट बियरसमेत आयात गरेको छ । यस्तै, अब्सुलुट, सिरक, स्क्रिअस जस्ता मदिरा पनि नेपालमा आउँछन् ।
हामी २१ औं शताब्दिको आधुनिक युग सम्म आइसक्यौ, आधुनिकतामा परिवर्तन चाहन्छौ भनिरहन्छौ । तर संस्कृतिको नाममा सदियौं देखि चलि आएका केही विकृतिलाई त्याग्न सक्दैनौ जसका कारण समाजमा संस्कृतिको नाममा विकृति मौलाइरहेका छन् ।
समाजमा महिला हिंसा पारिवारिक विखण्डन र अपराध बढाउने प्रमुख कारक मदिराजन्य पदार्थको उत्पादन बिक्री वितरण र प्रयोग प्रति कति सचेत छौ ? गम्भीर भएर सोच्ने बेला भएको छ।
औषधी र चामल किन्ने रकमको आधाभन्दा बढी हिस्सा हामीले मदिरा मै लगानी गरिरहेका हुन्छौ । खुशी हुँदा होस वा दु:खि हुँदा मर्दा होस वा जन्मिदा, बिहे भोज होस वा १३ दिने काट्टो सबैमा मदिरा अनिवार्य जस्तै बन्दै गएको छ।
एक अध्ययन अनुसार नेपालमा मदिरा सेवन गर्ने मानिसहरु १८ देखि ३० वर्ष सम्मका ८० प्रतिशत र १५ देखि ६० वर्ष उमेर समुहका झन्डै ६७ प्रतिशत छन् भने नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ लाई फर्केर हेर्दा मदिरा सेवनकै कारण आफ्नै श्रीमानबाट झन्डै ७० प्रतिशत श्रीमतीहरु भौतिक र यौन हिंसाबाटै पीडित छन् ।
नेपालमा केही समुदायभित्र मदिराजन्य पदार्थलाई आफ्नो संस्कारसँग जोडेर शुभ अशुभ कार्यमा प्रयोग गरिन्छ । संस्कारकै नाममा विभिन्न चार्डपवमा मदिराजन्य पदार्थको प्रयोग र वितरणमा राज्यको समेत समर्थन देखिन्छ ।
अर्को अनुसन्धान अनुसार नेपालका गरिब मजदुरले आफ्नो आम्दानीको १५ प्रतिशत रकम मदिरापानमा खर्च गर्छन् । ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्न धौ धौ हुने वर्गले समेत जब आफ्नो आम्दानीको १५ प्रतिशत रकम मदिरामा लगानी गर्छन् तब परिवारमा आर्थिक अभावसँगै झै-झगडा र पारिवारिक विखण्डनको क्रम शुरु हुन्छ र त्यसको प्रत्यक्ष प्रभाव ती अभिभावकका बालबालिकाहरुमा समेत पर्न जान्छ ।
जसका कारण यस्ता बालबालिकाको पढाइको स्तर अन्य बालबालिकाको तुलनामा खस्किदै जान्छ । परिवार नै विखण्डन हुनेगरी,समाज र राष्ट्रलाई नकरात्मक प्रभाव पार्ने यस्तो मदिरापानको सुरुवात चाँही हाम्रै संस्कार र संस्कृतिबाट शुरु हुन्छन् । भाङ,धतुरो,गाँजा चुरोट जाँड रक्सिलाई हाम्रो समुदायमा हुने कतिपय चाडपर्वमा संस्कार र संस्कृतिको बहानामा जथाभावी प्रयोग गरिदा भविष्यका सुनौला कर्णधार बालबालिकाहरु दिनहुँ दुर्व्यसनीमा फसिरहेका छन् ।
औषधी र चामल किन्ने रकमको आधाभन्दा बढी हिस्सा हामीले मदिरा मै लगानी गरिरहेका हुन्छौ । खुशी हुँदा होस वा दु:खि हुँदा मर्दा होस वा जन्मिदा, बिहे भोज होस वा १३ दिने काट्टो सबैमा मदिरा अनिवार्य जस्तै बन्दै गएको छ।
छिमेकी मुलुक भारतले विहार प्रदेशमा मदिराको विक्रि वितरण र उपभोगमा पूर्ण रोक लगाइरहँदा नेपालले भने त्यही भारतबाट सबैभन्दा धेरै मादक पर्दाथ आयात गरिरहेको छ ।राज्यले मदिराजन्य पदार्थको आयातबाट भन्सारमा राम्रै राजस्व संकलन गर्यो होला त्यो आफ्नो ठाउँमा छ । तर त्यसले समाजमा कस्तो असर गरिरहेको छ यसतर्फ पनि ध्यान जान जरुरी छ । मदिरापानकै कारण परिवार एवम् समाजमा विकृती र विखण्डन दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
क्षयरोग ,सडक दुर्घटना, घरेलु हिंसा ,हत्या, मुटुरोग र कलेजोको क्यान्सर बढदै जानुको प्रमुख कारक मदिरा हुँदै आए पनि हाम्रो ध्यान त्यता जान सकिरहेको छैन जुन दु:खद् कुरा हो ।
जबसम्म हामीले मनाउने चाडपर्व, संस्कार र संस्कृति भित्रका विकृतिलाई हामीले त्याग्न सक्दैनौ तबसम्म हामी हाम्रा पुस्तामाझ यस्ता चाडपर्व, संस्कार र संस्कृतिलाई गौरवका साथ हस्तान्तरण गर्न सक्दैनौं। आधुनिक बनौं तर जिम्मेवारी नभुलौं। # राजस्वको लोभमा मदिरा
फेसबुक देखि प्रतिक्रिया दिनुहोस