नेकपा (दाहाल-नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
त्यसैगरी झडपमा नेता मातृका यादवको खुट्टामा चोट लागेको छ। कारिराम यादव, शिवकुमार गोइत, सुरेश कापर, प्रदिप साह, रूपेश विराजी, रन्जित पाण्डे, सुभाष मण्डल र विरजु विराजीलगायत घाइते भएका छन्।
झडपका क्रममा केही गाडीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ। प्रहरीले अवस्था नियन्त्रण लिन भन्दै दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको छ। घटनास्थलबाट प्रहरीले १२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको जनाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस