१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा गएर धुमधाम रमाइलो गर्ने बताएका छन् ।
हिउँदे सिजन मै पाकिस्तानमा रहेको बिश्वको दोश्रो सर्बोच्च शिखर ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
सधैं झै ठट्यौली शैलीमा आफ्नो भनाइ राख्दै प्रधानमन्त्री ओलीले माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए धुमधाम रमाइलो हुने बताउँदै भने – ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि तपाइँहरुको टिममा हुन्थ्यो ।’
उनी त्यतिमा मात्र रोकिएनन । माउन्ट केटु हिमाल आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै उनले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणा समेत गरे । हरेक कुरामा आफ्नो सुझाव दिन माहिर ओलीले आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै आरोहणलाई हल्का रुपमा नलिन आरोहीलाई सुझाए ।
केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले देश गरिव भएकै कारण राज्यबाट सहयोग नपाएको बताए ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस