“वर्तमान दलाल पुजीवादी व्यवस्थाको एकमात्र विकल्प वैज्ञानिक समाजवाद हो । त्यसलाई सुनिश्चित गर्ने समानान्तर एवम् वैकल्पिक जनसत्ता हो । जनसत्ताले भ्रष्टाचार, दलाली, महङ्गी, कालोबजारी, तस्करी लगायत अन्याय र उत्पीडनका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको कुरा अवगत नैं छ ।” यी हुन- नेकपा बिप्लव निकट जनपरिषद पाल्पाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख भएका शब्दहरु ।
पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जोगिथुमस्थित दुर्गे कुमाल (हाल स्वर्गीय)को नाममा वि.स. २०३२ सालमा दर्ता भई नीजले भोगचलन गर्दै आएको कित्ता नं. २४८, ३०२ र ४१३ को करिब ३२ रोपनी जग्गा उस्तै नामका अर्का जीवित दुर्गे कुमालको नाममा किर्ते कागजात तयार गरी सि जी सुगर मिल्स प्रालि–ललितपुरले कब्जा (खरिद) गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै जनपरिषद पाल्पाका प्रमुख मीन बहादुर आलेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
“स्व.दुर्गे कुमालका छोरा धनबहादुर कुमाललाई भूमिहीन बनाउने गरी भएको अन्यायपूर्ण उक्त किर्ते कार्यमा सि जी प्रालि, केही दलका स्थानीय व्यक्तिहरु, कथित केही जनप्रतिनिधिहरु, मालपोत कार्यालय पाल्पा, दुर्गे कुमाल र नीजका ४ छोराहरु लगायतकाको मिलेमतो र आर्थिक चलखेल रहेको” जनपरिषदले जनाएको छ ।
आफ्नो बुवाको नाममा रहेको सो जग्गा षडयन्त्रपूर्वक किनबेच भईसकेको कुरा थाहा पाएपछि धनबहादुर कुमालले सम्बन्धित विभिन्न निकायहरुमा न्यायको निम्ति अनुरोध र मुद्दामामिला गर्दा तयार पारिएको सर्जिमिनमा समेत स्थानीयबासी अधिकांशले उक्त जग्गा स्वर्गीय दुर्गे कुमाल कै भएको कुरा स्पष्ट गर्दागर्दै अदालतलाई समेत प्रभावमा पारेर गरिएको अन्यायपूर्ण फैसला गरिएको परिषदको आरोप छ ।
हाल यो मुद्दा पुनरावेदन अदालतमा विचाराधीन समेत छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस