पुजा लम्साल,
माघ ५, नवलपरासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा संचालित आर्थिक पुनर्लाभ कार्यक्रमको आज एक कार्यक्रमका विच समापन गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस र लकडाउनबाट प्रभावित व्यवसायीहरुको आर्थिक उपार्जनका लागि उनीहरुलाई पुनस्र्थापित गराउने उद्देश्यले युएस आईडी, तयार नेपालको आर्थिक सहयोग तथा हिकोडेफ र सुनवल नगरपालिकाको सहजीकरणमा विगत ४ महिना देखि संचालित सो कार्यक्रमको आज समापन गरिएको हो ।
कोरोना न्युनिकरणका लागि गरिएको लकडाउनबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई शसर्त अनुदान बापत ३२ हजार रुपैयाको दरले आर्थिक पुनर्लाभ कार्यक्रमको अनुदान प्राप्त गरेका तयार नेपालका फिल्ड अधिकृत छबि सुनारले कार्यक्रममा जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले अनुदान रकम प्राप्त गरेपछि कोरोनाबाट प्रभावित व्यवसायिहरुलाई लाभ मिलेकोले कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो । नगरप्रमुख थापाले कोरोनाका कारण बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई स्वदेशमै स्वरोजगार बन्न चाहेमा स्वरोजगारका कार्यक्रम गर्न नगरपालिका हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
सुनवल नगरपालिकाबाट नागरीक विदेश जान नपरोस् यदि जान परे सिप सिकेर जाउन् भन्ने नगरपालिकाको उदेश्य रहेको जानकारी गराउदै उहाले उद्यमी बन्न चाहने नगरबासिलाई समुहमा गु्रप बनेर आउनेलाई आवश्यक तालिमहरु समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परिणाम देखिने गरी काम गर्न उहाले सवैलाई आग्रह समेत गर्नुभयो ।
नगर प्रमुख थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रवक्ता तथा सुनवल वडा नं.१३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटा, वडा नं १ का वडा अध्यक्ष विनप्रसाद बुढाथोकि, वडा सदस्य मनबहादुर थापा, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरे, हिकोडेफका कार्यक्रम संयोजक शुक्रराज ओझा, लगायतको उपस्थिति रहेको थियो ।
उक्त आर्थिक पुनर्लाभ कार्यक्रमको अन्तर्गत नगरपालिकाको १३ वटै वडाबाट १५८ जना शसर्त अनुदान प्राप्तका लागि छनौटमा परेका थिए । नगरपालिकाले कोभिड-१९ बाट प्रभावित गरिब, एकल महिला, दलित, अपाङ्ग, पिछडावर्गका व्यवसायीहरुलाई प्राथिमकतामा राखि केहि मापदण्ड बनाएर वडा/वडाबाट लाभग्राहीहरुको निवदेन माग गरेको थियो । अनुदान रकम पाउने लाभग्राहीहरुले अत्यन्तै खुशी व्यक्त गरेका छन् । यो कार्यक्रम नेपालको १२ वटा स्थानिय तहहरुमा मात्र संचालनमा रहेको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस