कोरोना महामारीका कारण गत वर्षको चैतदेखि बन्द भएका विद्यालय, फिल्म हल, जिमखानालगायत खुल्ने भएको छ ।

आइतबार बसेको कोभिड–१९ रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशन समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा पुनः बन्द गर्नसक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई विद्यालय, फिल्म हल, जिमखानालागयत खुला गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरि रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको हो ।
त्यस्तै, उक्त बैठकले कोरोनाको संक्रमण कम भएको, भीडभाड बढेको अवस्थामा तथा दोस्रो लहरको संक्रमण आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि बताइएको छ ।
यसैबीच केही देशमा पुनः कोरोना संक्रमितको दर बढ्दै गएको र उक्त देशबाट नेपाल भित्रने नागरिकलाई १० दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
साथै, तेश्रो मुलुकबाट नेपाल आउने नागरिकलाई अनलाइन फारम भर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पर्यटनमन्त्रालयलाई निर्देशन दिएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस