कपिलवस्तुको नयाँ भवनको वाणगंगा ८ बोडगाउँमा मंगलबार उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले छापा, विद्युतीय तथा अनलाइन सञ्चार माध्यमहरुमा ७० प्रतिशतसम्म विज्ञापनहरु कम भएको भन्दै चल्न समस्या रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उपत्यका बाहिर मात्र होइन्, उपत्यका भित्रकै ठूला सञ्चार गृहमा समेत आर्थिक संकट निम्तिएर धेरै श्रमजिवी पत्रकारले जागीर नै गुमाउनुपरेको छ । कतिपय मिडिया बन्द नै भए । कतिपयको स्थिति नाजुक छ । यस्तो स्थितिमा कत्तिपनि विचलित नभई काम गर्न जिल्लाका पत्रकारलाई आग्रह गर्दछु ।’
आफु महासंघको नेतृत्वमा पुगे देखि नै श्रमजिवीको हकमा योजना बनाएता पनि कोरोनाको कारण केही गर्न नसकिएको उहाँले बताउनुभयो । अहिले नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयमा महासंघले अल्पकालिन तथा दीर्घकालिन योजना लगेको हुँदा आगामी दिनमा पत्रकारलाई समस्या नआउने आश्वस्त पार्दै पत्रकारिताबाट नभाग्न आग्रह गर्नुभयो ।
निरन्तर तीस बर्षसम्म पत्रकारिता गरेर ६० बर्षमाथि पुगेका श्रमजिवीलाई मासिक १५ हजारसम्म तलव दिने नीतिगत व्यवस्था कार्यान्वयनको चरणमा रहेको समेत सुनाउनुभयो ।
फरक प्रसंगमा उहाँले आचारसंहिता विपरित काम गर्ने पत्रकार ढिलोचाडो कारबाहीको भागिदार बन्ने समेत बताउनुभयो । पछिल्लो समय आचारसहिंता विपरित पत्रकारहरुले सामग्री प्रकाशन, प्रशारण गरिरहेकाले पेशागत मर्यादामा रहन समेत उहाँको सुझाव छ । सत्यतथ्यमा आधारित रहि समाचार लेख्दा पत्रकारको पनि गरिमा उच्च हुने तथा विपरित काम गर्नेहरु पतन हुने औल्याउँदै कपिलवस्तुका पत्रकारहरुलाई नमुना बनेर देखाउन आग्रह गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले पत्रकारिता आचारसहिंता सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले प्रेस काउन्सिलमा आउने उजुरी, पत्रकारले विराउने बाटोको प्रकृति, पेशागत मर्यादा विपरित काम गर्ने पत्रकारहरुमाथि हुने कारबाही लगायतका विषयमा कपिलवस्तुका सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
एउटै सामग्री पनि मिडियापिच्छे फरक फरक आउँदा पाठक समेत भ्रममा पर्ने हुँदा समाचारको तथ्यतामा ध्यान दिन समेत उहाँको आग्रह छ । राम्रो पत्रकार र मिडिया हाउसलाई काउन्सिलले सम्मान, प्रोत्साहन तथा वर्गिकरणमा पार्ने हुँदा निष्पक्ष ढंगले कलम चलाउदा प्रशस्त सम्भावना समेत रहेको उहाँले सुनाउनुभयो

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा लगायतले बोल्दै महासंघले भवन बनाएर राम्रो काम गरेकोमा बधाई दिनुभएको थियो ।
महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरि अधिकारीले गर्नुभएको थियो । महासंघले झण्डै ३५ लाख लागतमा सुविधासम्पन्न भवन बनाएको हो । यससंगै जिल्लामा महासंघका दुई ओटा भवन निर्माण भएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरुले विभिन्न समस्याका बारेमा केन्द्रिय अध्यक्ष समक्ष अवगत गराएका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस