सर्लाही – महोत्तरीको बर्दिबासमा बालिका हत्या विरोधमा स्थानीयले तोडफोड सहित विरोध प्रदर्शन गरेपछि पश्चिबाट पूर्व हिँडेका सवारी साधनलाई सर्लाहीमै रोकिएको छ ।
मंगलबार बिहानैदेखि सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन, बागमती लगायत स्थानहरुमा बर्दीबासदेखि पूर्व जाने सवारी साधनलाई प्रहरीले रोकेको हो । बर्दीबास छेउछाउ नै पुगेर सवारीसाधन रोकिँदा प्रदशनकारीले थप क्षति पुर्याउन सक्ने भएकाले महोत्तरी प्रहरीको आग्रहमा सर्लाहीमै सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रदर्शन नरोकिए सवारीसाधनको लाम जंगलमा पुग्ने भएकाले यात्रुहरुलाई थप कठिनाई नहोस् भनेर पनि सुरक्षानिकायले पूर्व हिँडेका सवारीसाधनलाई सर्लाहीको बजार स्थलमै रोकेको हो ।
बर्दिबास नगरपालिका–१४ घर भएका शहीद आलमकी छोरी ६ वर्षीया गुलाब खातुनको बलात्कार पश्चात हत्या गरिएको भन्दै स्थानीयले मंगलबार बिहानैदेखि बर्दिबास बजार एवं आसपासमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । हत्या आरोपमा बर्दिबास प्रहरीले गौशाला नगरपालिका–५ घर भई बर्दिबास चोकमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।
आइतबार साँझदेखि बेपत्ता भएकी गुलाबको मंगलबार बिहान एक बजे घर नजिकैको खेतमा फेला परेको हो । प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् ।
प्रदर्शन नियन्त्रणम लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस एवं केही राउण्ड रबरको गोली चलाएको छ । गोली लागेर तीनजना घाईते भएको प्रहरीले जनाएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस