कार्तिक १६ । तिलोत्तमा नगरपालिकाले नगरपालिकाको वडा नं. ४ स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई उपलब्ध गराउने भनेको जग्गामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको पाईएको छ । “ढुङ्गा, गिट्टी तथा बालुवा, उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७” का अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन नदिजन्य पदार्थ उत्खनन् गर्न पाईंदैन । तर नगरपालिकाले डम्पिङ गरेको भन्दै अबैध रुपमा धमाधम उत्खनन् गरेर थोरै मात्रामा वडा कार्यालयहरुलाई वितरण गरी धेरै क्रेसर उद्योगहरुलाई बिक्री गरेको समाचार श्रोतले जनाएको छ ।
बातावरण संरक्षण ऐन, २०७६ को दफा २ (फ) का अनुसार पनि बातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । तर स्थानीय सरकारको नाममा जे गरेपनि हुन्छ भन्ने अहम भावनाले नगरपालिकाले देशको मूल कानुनी व्यवस्थालाई लत्याएर आफू खुसी उत्खनन् गर्नु आफैमा दुःखद कुरा भएको नगरपालिकाका केही जनप्रतिनिधीहरुको बुझाई छ । उक्त बुझाईले अबैध उत्खनन् कार्य प्रति सबैको सहमति हुन नसकेको बुझ्न सकिने आधार सृजना भएको छ ।
यस विषयमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई सम्पर्क गर्दा घिमिरेको फोन व्यवस्त भैरहयो भने नगरप्रवक्ता सुरेन्द्र श्री ले उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । वडा नं. ४ का वडा अध्यक्ष दिवाकर ढकालले असार अगाडी डम्पिङ गरेको नदिजन्य पदार्थ आवश्यकताका आधारमा वडाहरुलाई वितरण गरेको दाबी गरेतापनि उत्खनन् क्षेत्रको प्रकृति र त्यहाँ भएका बोटविरुवाहरुको अवस्था हेर्दा अबैध उत्खनन् भएको प्रष्ट देखिने तस्विर उपलब्ध गराउँदै समाचार श्रोतले जानकारी गरायो ।
वडा अध्यक्ष ढकालले वडाहरुमा अनुगमन गरेर के कति आवश्यकता हो सोही अनुसार दिएको बताए । उनले डम्पिङ गर्दा कति परिणाम थियो भन्ने कागजात भएको बताएपनि स्थानीयहरुले उक्त क्षेत्रमा नगरपालिकाले नदिजन्य पदार्थ डम्पिङ गरेको आफूहरुलाई जानकारी नभएको बताए । करिब एक बिगाह भन्दा धेरै क्षेत्रमा पाँच फिट भन्दा गहिरो खाडल पारेर निकालिएको नदिजन्य पदार्थको अनुमानित मूल्य एक÷दुई करोड रुपैयाँको हुन सक्ने सम्बन्धित क्षेत्रका प्राविधिकहरुको अनुमान छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस