वि.स: २०७७ असोज महिनाको ०१ गते बिहीबार आज देशभर विश्वकर्मा गरिँदै छ।
विश्वकर्मा पूजाको दिन विश्वकर्मा भगवानलाई सम्झेर प्रविधि र मेशिनरीहरूको पूजाआजा गरिन्छ। आज अश्विन संक्रान्ति पनि हो। आजकैदिन भगवान विश्वकर्माको जन्म भएको थियो। त्यसैले आजका दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ।
आजका दिन नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन्। आज सबै औद्योगिक, व्यापारी र मजदूरहरूले विश्वकर्माको पूजा गर्ने गर्छन् । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन रहिआएको छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण श्रृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने आत्ध्यात्मिक विश्वास रहिआएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस