धेरै लडियो महिला हिंसा विरुद्ध
अब लड्नु छ पुरुष हिंसाको विपक्षमा
प्रत्यक्ष रूपमा महिला पिडित भए जस्तै
अप्रत्यक्ष रूपमा पुरुष पीडित पनि रहेछन् देशमा अस्ति भर्खरको कुरो हो ।
समाजमा नामर्दको पगरी गुथाईदिने
जोईटिङ्ग्रेको उपमा भिराईदिने डरले
एकजना पत्नी पिडित दाई
घुत्रुक्क कुनामा घोत्लिदै थिए ।
दाजु श्रीमतीले हेला गरेकै हुन त ?
मेरो सोझो प्रश्न तेर्सियो
अकमक्क बन्यो
असहजता प्रकट गर्यो
तर खुलेर बोल्नै चाहेनन् ।
टुटेको टाँक
ठाडिएको कपाल
झरेको टोपी र
खाली खुट्टोले पोल खोल्दै थियो ।
मोबाईल कहिल्यै नबोक्ने
बोक्नै परे नोकियाको ११ सय मोडल खोज्ने दाजु
श्रीमतीको स्मार्टफोन देख्दा तर्सिन्थ्यो
अझ भनौं त
श्रीमती मोबाईलमा मस्किदा झस्किन्थ्यो ।
अरबको ५५° घाममा सेकिएर आएको दाजुलाई
घरको सानोठुलो सबै काम समान लाग्थ्यो
पकाउने तुल्याउने सबै काम आफै गर्थ्यो ।
घाँसको भारी बिसाउँदै गर्दा
डढेको भातको गन्धले
पारो तातेछ र
श्रीमतीलाई हकार्दा लुछेकी अरे
सानी छोरिले रुँदै बताईन ।
मोबाईलमा भुलेर दालभात जलाउँदा
बोल्न नहुने रहेछ क्यारे ?
मोबाईलमा अरुसंग मस्किदा
सोध्न नपाईने रहेछ क्यारे ?
मनमनै प्रश्नैप्रश्न र कौतुहलताको बाढी आयो
अनायासै आँखा भरियो र
भन्न मन लाग्यो
प्रण गर्न मन लाग्यो
धेरै लडियो महिला हिंसा विरुद्ध
अब लड्नु छ पुरुष हिंसा विरुद्ध ।
अब लड्नु छ पुरुष हिंसा विरुद्ध ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology